डडेल्धुरामा दर्ता नगरी सञ्चालन गरेको फार्मेसी सिल


डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–४ प्रशासन रोडमा रहेको आयुषा फार्मेसी एण्ड बैजनाथ क्लिनिकलाई सिल गरिएको छ। औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज, बाँकेसहितको संयुक्त अनुगमन टोलीले सो फार्मेसीलाई सिल गरेको हो।

सोमबार गरिएको अनुगमनका क्रममा दर्ता नै नगरी सञ्चालन गरेको पाइएपछि आयुषा फार्मेसीलाई सिल गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए।

‘हामीले अनुगमन गर्दा दर्ता नगरेरै फार्मेसी सञ्चालन गरिएको पाइयो। पहिले दर्ता गर्नुभएको रहेछ। दर्ता रद्द भइसकेपछि पनि सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको हो,’ उनले भने, ‘फार्मेसीमा म्याद नाघेको औषधिहरू पनि सञ्चय गरेको भेट्यौँ।’

संयुक्त अनुगमन टोलीले एक साताभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ। उक्त टोलीले सोमबार जिल्ला सदरमुकाम क्षेत्रका ११ वटा फार्मेसी तथा औषधि पसलको अनुगमन गरेको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, सरसफाइमा ध्यान नदिएको, बिल नदिने गरेकोजस्ता समस्या देखिएको छ।

बिल काट्दा सबै विवरण भर्न तथा सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको छ। अनुगमनमा जिल्लाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत द्वारिका ओझा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक अशोककुमार गुप्ता, पत्रकार र सुरक्षाकर्मीको सहभागिता रहेको थियो।

प्रतिक्रिया