

काठमाडौंमा असिनासहित वर्षा

काठमाडौं- आइतबार दिउँसो काठमाडौंमा असिना र हावाहुरीसहित वर्षा भएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव देशका विभिन्न भागमा देखिएको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान अनुसार, आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रह्नेछ भने बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ।
मधेश प्रदेश र देशका पहाडी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
आज राति, कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहन सक्छ, भने बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ।
कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसका साथै, हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको पनि संभावना रहेको महाशाखाले जानकारी दिएको छ।

