शिक्षक आन्दोलनको कारण ५५ लाख विद्यार्थीको पढाइ प्रभावित, आयोगमा ध्यानाकर्षण


काठमाडौं- अभिभावक संघ नेपाल, केन्द्रीय समितिले सामुदायिक विद्यालयको शैक्षिक गतिविधि प्रभावित भइरहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । सोमबार संघले आयोग अध्यक्षलाई भेटी ज्ञापनपत्र बुझाउँदै विद्यालय सञ्चालन र कक्षा-१२ को परीक्षा सहज रूपमा गराउन पहल गर्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा १९ दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेको कारण करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन र भर्ना प्रक्रिया प्रभावित भएको उल्लेख छ । यसले विद्यार्थीको पढ्न पाउने अधिकारमा प्रतिकूल असर परेको भन्दै अभिभावक संघले चिन्ता व्यक्त गरेको छ ।

संघले शिक्षकहरूको जायज माग अविलम्ब सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै भनेको छ, “शिक्षक खुसी भए मात्रै कक्षा रमाउँछ। शिक्षकलाई सम्मान गर्न राज्य चुक्न हुँदैन। साथै, विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्नु सबैको कर्तव्य हो ।”

अभिभावक संघले कक्षा-१२ को आसन्न परीक्षा पनि प्रभावित हुन सक्ने भन्दै मानव अधिकार आयोगमार्फत सरकारलाई तत्काल समाधान खोज्न आग्रह गरेको छ । बालअधिकारको रक्षा गर्दै सामुदायिक विद्यालय र परीक्षा सञ्चालन सुनिश्चित गर्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया