

भारतका विद्युतमन्त्री नेपाल आउने

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।
गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी वैशाख ९ गते दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०÷३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सवस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने छन् । सोही दिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।
बैशाख १० गते भारतका विद्युत मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । विद्युत मन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

