आफूलाई चिरिच्याँट्ट पारिदिने सैलुनलाई एसी र इन्भर्टर दिने तयारीमा हेटौंडाकी मेयर


काठमाडाैं- मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा अहिले सामाजिक सञ्जालमा  चर्चामा छिन् । कारण हाे उनले केही दिन अघि मात्रै उद्घाटन गरेको सैलुन ‘द नाइनटिन’ लाई एसी र इन्भर्टर दिन लागिएको भन्दै सार्वजनिक भएको एक पत्र ।

हेटौंडा-४ मा रहेको उक्त सैलुनको उद्घाटन कार्यक्रममा सहभागी भएकी मेयर लामालाई त्यहाँको गर्मीले हैरान बनाएको थियो । त्यहाँ मेकअप गरेपछि  उनले “म एसी जडान गर्न सहयोग गर्छु” भनेर वाचा गरेकी थिइन् । त्यसकै आधारमा सैलुन सञ्चालक सुसन घलानले औपचारिक निवेदन दिएका थिए, जुन पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पत्रमा घलानले भनेका छन्, “तपाईंले उद्घाटनमा एसी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो, त्यसैले यो निवेदन लिएर आएको हुँ । अहिले गर्मी अत्यधिक छ र ग्राहकको चाप पनि बढ्दो छ।  त्यसैले एक थान एसी र लोडसेडिङको समस्याका कारण इन्भर्टरको पनि आवश्यकता छ ।”

निवेदनको आधारमा मेयर लामाले नगरको ओभरसियर पुरुषोत्तमलाई लागत अनुमान तयार गर्न आदेश दिएकी छन् । तर यो पत्र सार्वजनिक भएपछि चौतर्फी विरोध सुरु भएको छ । कतिपयले यो कार्यलाई ‘व्यक्तिगत चासोमा सार्वजनिक स्रोतको प्रयोग’ भन्दै आलोचना गरेका छन् ।

यता, प्रवक्ता सविन न्यौपाने भन्छन्, “व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्न पाउने अधिकार मेयरसँग छ, तर के विलासिता हो र के आवश्यक, त्यो छुट्याउनुपर्ने हो ।” सूचना अधिकारी भानुभक्त थपलिया पनि कानुनी दायराभित्र रहेर सहयोग गर्न खोजिएको दाबी गर्छन् ।

तर सैलुन सञ्चालक घलान भने यो पत्र सामाजिक सञ्जालमा हालेर गल्ती गरेको महसुस भएको बताउँछन्।  बैंकबाट ऋण लिएर सैलुन सञ्चालनमा ल्याएका घलानले उद्घाटनकै दिन मेयरसँग गर्मीको कुरा राखेको र त्यसपछि मेयरले सहयोग गर्ने भनेपछि मात्रै निवेदन दिएको स्पष्ट पार्छन् ।

 

प्रतिक्रिया