

रुघाखोकीका बिरामी बढे, निको हुने अवधि लम्बिँदै

काठमाडाैं- रुघाखोकीबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पताल एवम् क्लिनिकमा समेत बिरामीको चाप छ ।
रुघाखोकी लागेमा हप्ता दिनमा निको हुने गरेकामा पछिल्लो समय दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको छ ।
चितवनको भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडाका अनुसार हरेक तीन वर्षमा इन्फ्लुएञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने हुन्छ । इन्फ्लुएञ्जालाई बोलिचालीको भाषामा फ्लू भनिन्छ ।
प्रायः यसबाट देखा पर्ने लक्षणहरू नाकबाट पातलो सिँगान बग्ने, टाउको, घाँटी र मांसपेसी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने हुन्छन् ।
डा. खतिवडाले अहिले रुघाखोकी लागेका बिरामीलाई निको हुन दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको बताए । रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन धेरै समय लाग्ने गरेको उनी बताउछन् ।
वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा. शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउछन् । विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीलाई जोखिम धेरै हुने भएकाले सचेत रहन उनको जोड छ ।
अहिलेको मौसम, वायु प्रदूषण, भोजभतेर, राजनीतिक समर्थन र विरोधका कार्यक्रममा हुने भीडभाडमार्फत पनि सङ्क्रमण फैलिएको डाक्टरले बताएका छन् ।
कोरोना सङ्क्रमणका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन, सकेसम्म मास्कको प्रयोग गर्न, भीडभाडमा नजान डाक्टरको सुझाव छ ।

