

तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा उनले यस्तो माग गरेका हुन्।
उनले उक्त घटना फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यबाट शुरु भएकाले कतै न कतै उनको भूमिका भएको दावीसमेत गरे।
घटनामा सुरक्षा निकायले संवेदनशिलता देखाएकाले थप ठूलो घटना हुनबाट बचेको उनको भनाइ छ। उनले प्रहरीमाथि हेर्नै नसकिने तरिकाको निर्मम र पाशविक प्रहार भएको बताए। उनले उक्त घटना कुनै पनि राजनीतिक मागसँग जोडिएको आन्दोलन नभएको आरोप लगाए।
‘१५ गतेको घटना नेपालको इतिहासमा अत्यन्त क्रूर हिसाबले दर्ज भएको घटना हो। जिउँदै पत्रकारहरुलाई मारिएको अवस्था छ। सरकारी र व्यक्तिगत घरहरु यसरी आगजनी गरेर यति ठूलो क्षति गराइयो, लुटपाट आगजनी जुन ढंगले भयो, व्यक्ति हत्या जसरी गराइयो‚ त्यो असाध्यै प्रायोजित ढंगबाट गरिएको यो घटना हो। त्यसदिन केही प्रहरीमाथि यति धेरै निर्मम र पाशविक ढंगबाट इँटा र ढुंगा प्रहार गरियो त्यो हेर्न सकिने अवस्थामा थिएन‚’ उनले भने, ‘त्यो कुनै आन्दोलन नामबाट हुन्थ्यो भने संविधानले दिएको अधिकार उपयोगका लागि आन्दोलन हुन्थ्यो भने त्यस्तो घटना हुँदैन थियो। प्रहरीलाई मार्ने उद्देश्यका साथ गाडी चलाइएको छ। प्रहरीसँग बन्दुक थियो, ठूलो दुर्घटना हुन सक्थ्यो‚ मानवीय क्षति हुने भिडियोहरुबाट देख्छौँ, त्यस्तो अवस्थामा पनि प्रहरीले ठूलो संयमता अपनाएको देखिन्छ।’
उनले उक्त घटनामा पूर्वराजा शाहको भूमिकाबारे सार्वजनिक प्रश्न उठेकाले उक्त विषयमा छानबिनबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नसमेत माग गरे। उनले उक्त घटना सुनियोजित र प्रायोजित ढंगले गरिएको जिकिर गरे।
‘फागुन ७ गते पूर्वराजाले प्रजातन्त्रको नाममा एउटा वक्तव्य सार्वजनिक गर्नुभयो, अभिव्यक्ति दिनुभयो, बेला आएको छ जनताले मलाई साथ देऊ भनेर अपिल गर्नुभयो। त्यसपछिका घटना त्यहाँबाट प्रारम्भ भएको देखिन्छ। त्यति ठूलो घटना हुँदा फागुन ७ गते उहाँ स्वयंले आह्वान गरेको अभिव्यक्ति सार्वजनिक मतबाट उत्साहित भएर जे घटनाहरु पछिल्लो चरणमा भएका छन्‚ त्यो दिनको घटनासँग जोडेर उहाँले कुनै पनि प्रतिक्रिया आजसम्म दिनुभएको छैन,’ उनले भने, ‘जहाँ ठूलो क्षति भएको छ- न त मृतकमा श्रद्धाञ्जलि, न परिवारजनमा समवेदना। उहाँ आफैँ कहीँ न कहीँ इन्भल्वमेन्ट छ भन्ने कुरा उहाँका आह्वानबाट परेको त्यो दृश्यले गर्दा यो प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि कहीँ न कहीँ जवाफदेहिताको तहमा ल्याइनुपर्छ भन्ने मलाइ लाग्छ।’
प्रमुख सचेतक बर्तौलाले तीनकुने घटनाले तीनकुने क्षेत्र अत्यन्तै संवेदनशील स्थान भएकाले त्यस्ता स्थानमा प्रदर्शन गर्न दिने कुरामा विशेष ख्याल गर्नुपर्ने बताए। उनले घटनाको दोषी जो सुकै भए पनि उन्मुक्ति कसैलाई दिन नहुनेमा जोड दिए।

