

चोटका कारण आईपीएलबाट बाहिरिए रुतुराज, सीएसकेको कप्तानमा फेरि एमएस धोनी

काठमाडौं — चेन्नई सुपर किंग्स (सीएसके) का कप्तान रुतुराज गायकवाडको कुममा फ्र्याक्चर भएपछि बाँकी आईपीएल २०२५ का लागि महेन्द्रसिंह धोनी पुनः कप्तानको भूमिकामा फर्किने भएका छन् । सीएसकेका प्रमुख प्रशिक्षक स्टेफन फ्लेमिङले बिहीबार (१० अप्रिल) कोलकाता नाइट राइडर्सविरुद्धको खेलअगाडि पत्रकार सम्मेलनमा यसको पुष्टि गरेका हुन् ।
२८ वर्षीय रुतुराज गायकवाड ३० मार्चमा राजस्थान रोयल्सविरुद्धको खेलमा तुषार देशपाण्डेको डेलिभरीमा कुममा चोट लागेर घाइते भएका थिए । चोटपछिसमेत उनले दिल्ली क्यापिटल्स र पंजाब किङ्सविरुद्धको खेल खेलेका थिए । तर पछिल्लो स्क्यान रिपोर्टमा फ्र्याक्चर देखिएपछि उनी प्रतियोगिताबाट बाहिरिएका छन् ।
यो समाचार सीएसकेका लागि ठूलो झटका हो, किनभने टिमले यस सिजन हालसम्म ५ मध्ये ४ खेल गुमाइसकेको छ । अब कप्तान र शीर्षक्रमका भरपर्दा ब्याट्सम्यानबिना खेल्नु टीमका लागि थप चुनौतीपूर्ण बन्ने देखिन्छ ।
गायकवाडले पछिल्ला चार सिजनमध्ये तीन पटक सीएसकेका लागि सर्वाधिक रन बनाउने बल्लेबाजको उपाधि जितेका थिए ।

