यूएन मिसनमा जान बिचौलियामार्फत रकम बुझाउने ८ सशस्त्र प्रहरी कारबाहीमा


काठमाडौं — संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसनमा जान बिचौलियामार्फत रकम बुझाउने ८ जना सशस्त्र प्रहरीलाई विभागीय कारबाही गरिएको छ । आन्तरिक छानबिनपछि सशस्त्र प्रहरी बल मुख्यालयले उनीहरूमाथि नसिहतदेखि पद घटुवासम्मको कारबाही गरेको हो ।

कारबाहीमा परेका प्रहरी कर्मचारीहरू जवानदेखि वरिष्ठ हवल्दार तहका छन् । तीमध्ये हवल्दार टुकबहादुर थापालाई बिचौलिया दिनेश सापकोटासँग भेट गराउने मुख्य भूमिकामा रहेको भन्दै एक तह घटुवा गरी सहायक हवल्दारमा झारिएको प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

अन्य सात जनामाथि विगतको रेकर्ड हेरेर नसिहत, बढुवा रोक्का, ग्रेड कटौती जस्ता विभागीय सजाय दिइएको छ । छानबिन अनुसार, १५ नम्बर हेडक्वार्टर काभ्रेका वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदी, पशुपति बाहिनीका हवल्दार राजकुमार लामा, सशस्त्र हेडक्वार्टरका ईश्वर कार्की लगायतले बिचौलियालाई ८० हजारदेखि २ लाखसम्म बुझाएको खुलेको छ।

ठगी आरोपमा सिन्धुपाल्चोकका २६ वर्षीय दिनेश सापकोटा पक्राउ परेका छन् । उनले आफूलाई ‘चितवन ब्यूरो’ को असई बताउँदै यूएन मिसनमा पठाउने आश्वासन दिएर प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिने प्रलोभन देखाएका थिए । तर उनी प्रहरी नै नभएको पुष्टि भएपछि ठगी, बैंकिङ कसुर, आपराधिक लाभजस्ता अभियोगमा पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलले आन्तरिक छानबिनपछि प्रहरी प्रधान कार्यालयमा पत्राचार गरी थप अनुसन्धानको माग गरेको थियो ।

अहिले सो प्रकरणको विस्तृत छानबिन काठमाडौं उपत्यका प्रहरी कार्यालयमार्फत भइरहेको छ।

प्रतिक्रिया