नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ


बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जिप्रका बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङका सञ्चालक मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेका छन् ।

डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालत बागलुङबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप लिई थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया