

सूर्यबिनायक–धुलिखेल सडकको सीमा १५ दिनभित्र खाली गर्न निर्देशन

काभ्रे – काभ्रेको सदरमुकाम धुलिखेललाई राजधानीसँग जोड्ने सडक निर्माणका लागि जग्गा खाली गर्नका लागि सूचना जारी गरिएको छ ।
भक्तपुरको सूर्यबिनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडकलाई ६ लेनको बनाउने क्रममा सडकको मापदण्डभित्र पर्ने संरचना हटाउनका लागि सूर्यबिनायक–धुलिखेल सडक आयोजनाले एक सूचना जारी गरेको हो ।
सूचनाअनुसार निर्माणाधीन अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडक खण्डको दायाँ बायाँ सडक सीमाभित्र अनाधिकृत रुपमा रहेका घर टहराहरु हटाउन पटकपटक सूचना जारी गरिए पनि खाली नभएकोले उक्त सडकको सीमाभित्र बनेका अनाधिकृत घर टहराहरु १५ दिनभित्र हटाउन अनुरोध गरिएको छ ।
उक्त सूचनामा उक्त अवधिमा नहटाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार थप कारबाही गरिने समेत चेतावनी दिइएको छ । उक्त सडक खण्डमा सडकको केन्द्रबिन्दुबाट सडकको दायाँ र बायाँ दुवैतर्फ २५÷२५ गजसम्म सडक सीमा नियमाअनुसार खाली गरिने समेत जनाइएको छ ।
३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि वि.सं. २०७९ पुस २४ बाट सुरु गरिएको यो सडक निर्माण कार्य अहिलेसम्म करिब ४० प्रतिशतमात्रै सकिएको छ । १५.९ किलोमिटर सडक निर्माणका लागि पहिलो खण्ड ७.५ किमीको सूर्यबिनायक–साँगा सडक खण्ड र दोस्रो साँगा–धुलिखेल सडकको ८.४ किमि सडक खण्ड गरी दुई खण्डमा गरि निर्माण कार्य सुरु गरिएको छ ।
धुलिखेलसम्म मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ त्यसै गरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती, तल ठुलो भिर भएकाले काम गर्न असहज अवस्था सिर्जना भएको छ ।
आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा सरकारले आवश्यक बजेट निकासा नगरिदिँदा कामले आवश्यक गति लिन सकेको छैन ।
विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। आयोजनाले निर्माणका क्रममा सडक सीमामा भएका भौतिक संरचनाहरु अहिलेसम्म पनि पूर्णरुपमा हटाइएकोले सडक सिमालाई खालि गर्नका लागि सूचना प्रकाशित गरेको हो ।

