वर्षाले सडक हिलाम्य, दाउन्ने खण्ड अवरूद्ध


दुम्किबास – वर्षाको कारण बाटो हिलो र चिप्लो हुँदा पुर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड अवरुद्ध भएको छ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा वर्षाको कारण बाटो हिलो र चिप्लो भई सवारी साधनहरु आवतजावत गर्न कठिनाई भएपछि राजमार्ग अवरुद्ध भएको हो।

दाउन्ने खण्डमा कालोपत्रे सडक खनेर विस्तारको काम भईरहेको अवस्थामा बिहान परेको वर्षाले सडक हिलाम्य हुदा सवारी संचालनमा कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले जानकारी दिए।

सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बीच सडकमा अलपत्र परेका छन्। दाउन्ने क्षेत्रमा हिजो देखि आगामी चैत ३१ गते सम्मका लागि दिनको ११ बजे देखि ३ बजे सम्म सवारी आवागमन बन्द गरेर मर्मत कार्य सुरु गरिएको थियो।

त्यस्तै आगामी वैशाख १ गते देखि १५ गते सम्म राति ११ बजेदेखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम गरिने तयारी गरिएको नारायणगढ–बुटवल सडक निर्माण योजनाले जनाएको छ।

प्रतिक्रिया