

कुशल भुर्तेलको शानदार पारिसहित कुवेतविरूद्ध नेपाल विजयी

काठमाडौं – ओपनर कुशल भुर्तेलको शानदार पारिसहित कुवेतविरूद्ध नेपाल विजयी भएको छ ।
हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै कुवेतलाई ब्याटिङका लागि निम्तो दिएको थियो ।
कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले चार विकेट गुमाएर १८.५ ओभरमा पूरा गर्दै ६ विकेटको जित हात पारेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ८१ रनको शानदार पारि खेले भने अर्का ओपनर आशिफ शेखले ५३ रन बनाए । नेपाले १२७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि नेपालका दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन बनाउँदै खेल जितको नजिक पुर्याएका थिए । नेपालका कुशल मल्ल ४ रनमा आउट भएका थिए ।
त्यस्तै गुल्सन झाले ९ रन बनाउँदा कप्तान रोहित पौडेलले ४ रन बनाए । झा र पौडेल नटआउट रहे ।
त्यसअघि कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

