

यू- १९ क्रिकेटः अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य

काठमाडाैं- नेपाल र अफगानिस्तानबीच जारी यू- १९ एकदिवसीय क्रिकेटअन्तर्गत नेपालले अफगानिस्तानलाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ ।
मूलपानीमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले ४४.५ ओभरमा अलआउट हुँदै १९१ रन बनाएपछि अफगानिस्तानले जितका लागि १९२ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि साहिल पटेलले ४६ रन जोड्दा निरज कुमार यादवले ४२ रन बनाए । त्यस्तै, नरेन भट्टले २२ रन जोडे भने दर्श सोनार र रोशन विश्वकर्माले २८ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ अफगानिस्तानका हाफिज जद्रानले ४ विकेट लिए । त्यस्तै, अब्दुल अजिज र जैतुल्लाह साहिनले २/२ विकेट लिँदा रोहुल्ला अरब र महबुब खानले १/१ विकेट लिए ।
यो शृङ्खलाका दुई खेल आफ्नो पक्षमा पारिसकेको अफगानिस्तानले तेस्रो खेलमा जितका लागि सामान्य लक्ष्य पाएको हो ।

