

अमेरिका पुर्याइएका २१ पुरातात्त्विक सम्पत्ति नेपाल फिर्ता

काठमाडौं- चोरी गरी अमेरिका पुर्याइएका पुरातात्त्विक महत्त्वका २१ कलात्मक वस्तु नेपाल फिर्ता ल्याइएको छ । आइतबार (चैत १७) बिहान पुरातत्त्व विभागले ती मूर्ति सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
तीमध्ये तीन पौवाचित्र (१५–१८औँ शताब्दी) छन् । ती पौवाचित्र काठमाडौंको इटुम्बहालबाट ०३७ सालमा हराएका थिए ।
यस्तै, एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौँ शताब्दी) बुङमतीको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो ।
यीसहित नेपालका विभिन्न ठाउँबाट हराएका मूर्ति अमेरिका पुर्याइएको पाइएको थियो ।
हालसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट पुरातात्त्विक महत्त्वका १७७ मूर्ति तथा कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ ।
अमेरिका, फ्रान्स, बेलायत, चीन, अस्ट्रिया, अस्ट्रेलियाजस्ता देशबाट थप केही कलात्मक वस्तु फिर्ताका निम्ति कूटनीतिक पहल भइरहेको छ । अमेरिकाबाट मात्र नेपाल फिर्ता गरिएका पुरातात्त्विक महत्त्वका वस्तुको संख्या १०४ पुगेको छ ।

