

निर्मलनिवासले बुझेन जरिवाना पत्र, अब के गर्छ महानगर ?

काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ । आइतबार बिहान जरिवाना पत्र लिएर काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो ।
निर्मलनिवासले टोलीलाई गेटबाहिर बाटै फर्काएको नगरप्रहरी निरीक्षक लीलाराज गाछामगरले बताए । काठमाडाैं महानगरले आज नै हुलाकबाट पठाउने भएको जनाएको छ ।
महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
शुक्रबार राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुख बिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनकोक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।
प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

