३७ नम्बर ब्रोकरविरुद्ध उजुरी, अबदेखि तत्कालै भुक्तानी हुने : बोर्ड अध्यक्ष


काठमाडौं – सेयर बिक्री गरेको रकम भुक्तानी गर्न ब्रोकर कम्पनीहरुले आलटाल गरेका छन् । भुक्तानीमा आलटाल गरेको भन्दै ३७ नम्बर ब्रोकरविरुद्ध उजुरीसमेत परेको छ । नियामक निकाय धितोपत्र बोर्डले सेयर कारोबारमा ‘टी प्लस टू’ लागू गरेको छ । सेयर कारोबारमा टि प्लस टू भनेको कारोबार भएको दुई दिनभित्रै राफसाफ गर्नु पर्ने नियम हो ।

बोर्डले टी प्लस टू लागू गर्न निर्देशन दिए पनि ब्रोकर कम्पनीहरुले सेयर बिक्री गरेको महिना दिनसम्म पनि रकम नदिने गरेको पाइएको छ । ब्रोकर नम्बर ३७ (स्वर्णलक्ष्मी सेक्युरिटिज प्रालि)ले रकम दिन एक महिनासम्म ढिलाइ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा उजुरी परेको छ ।

हेटौंडा निवासी एक पीडितले नियम कानून विपरीत लामो समयसम्म भुक्तानी नपाउँदा आफूले थप आर्थिक क्षति व्यहोर्नु परेको भन्दै क्षतिपूर्ति समेत माग गरेका छन् । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड हो । ब्रोकर कम्पनीहरुले बद्मासी गरेको जानकारी पाए बोर्डले नै कारबाही गर्न सक्छ ।

तर बोर्डको कार्यालय ललितपुरमा भएको र हेटौैंडाबाट आउन समस्या परेका कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरमै आवश्यक कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको पीडित रमेश पण्डितले बताए । उनले बोर्ड नेप्सेमा समेत मौखित उजुरी दिएको बताएका छन् । तर बोर्डले हालसम्म कुनै एक्सन नलिएको पिडितकाे गुनासाे छ ।

तत्कालै भुक्तानी हुने व्यवस्था गर्छौंः बोर्ड अध्यक्ष

यता नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भुक्तानी ढिलो भएको भनेर बोर्डमा उजुरी नआएको बताए । सीडीयो कार्यालयमा भन्दा पनि बोर्डमै उजुरी गरेको भए राम्रो हुने उनको भनाइ छ । तर यो विषयमा बोर्डमा जानकारी आए तत्कालै भुक्तानी दिने व्यवस्था गरिने उनले बताए ।

नीति नियम विपरीत गएर ब्रोकरहरुले भुक्तानीमा ढिलाइ गरेको पाइए कारबाही हुने उनले बताए । तर अहिले उजुरी नपरेको र वास्तविकता समेत बुझ्न बाँकी रहेकाले अहिले नै केही भनिहाल्न नसकिने उनले बताए ।

‘कहिलेकाहीँ लगानीकर्ता र ब्रोकरबीच सम्झौता पनि भएको हुनसक्छ, उहाँहरुको सम्झौता छ भने ठीकै छ नत्र मैले बेचेको पैसा चाहियो भनेपछि दिनैपर्छ,’ अध्यक्ष ढुंगानाले भने, ‘महिनौ लगाउने भए टी प्लस टू लागू गरिएको अर्थै भएन नि, उहाँहरुले उजुरी गर्नुपर्‍यो, आवश्यक प्रक्रिया अघि बढ्छ ।’

 

प्रतिक्रिया