

म्यान्मार कूः नरसंहाकाे विश्वभरिबाट भत्र्सना, सैनिक नेतृत्वलाई प्रश्न

म्यानमारको सेनाले शनिबार मच्चाएको नरसंहारविरुद्ध १२ देशका विदेशमन्त्रीहरूले भत्र्सना गरेका छन् । सशस्त्र प्रहरी बल दिवसकै दिन म्यानमारका सेनाले निःशस्त्र प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एक सय १४ जनाको निधन भएको थियो ।
मृत्यु हुनेमा बालकालिकासमेत छन् । लोकतन्त्र बहाली र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गर्दै म्यानमारको ४४ वटा सहरमा १ फेब्रुअरीदेखि विरोध प्रदर्शन जारी छ । सैनिकले निर्दोष व्यक्तिहरूको हत्या गरिरहँदा सैनिक प्रमुख मिन आङले राजधानीमै सैनिक अधिकारीसँग शनिबार भव्य पार्टी आयोजना गरेको बीबीसीले उल्लेख गरेको छ ।
उक्त पार्टीमा सेना प्रमुख आङले अन्तर्राष्ट्रिय जगत् तथा सोसियल मिडियामा आएका प्रतिक्रियाबाट खुसी नभएको जनाइएका छन् । नरसंहार गरेको दिनमै सेनाप्रमुख मिन आङले आयोजना गरेको पार्टी अशोभनीय भएको प्रतिक्रिया सामाजिक सञ्जालमा आएका छन् ।
सशस्त्र प्रहरी बल दिवसका अवसरमा आयोजित सैनिक परेडमा रसिया, चीन, भारत, पाकिस्तान, बंगलादेश, भियतनाम, लाओस तथा थाइल्यान्डका उच्च प्रतिनिधिहरू उपस्थित थिए । अमेरिकाले म्यानमारमा शनिबार भएको घटनालाई ‘आतंकको शासन’ भनी प्रतिक्रिया दिएको छ ।
गत महिनाको सैनिक ‘कु’पछि शनिबारको घटनालाई अमेरिकाले सबैभन्दा घातक दिन भनेको छ । शनिबार मत्यु भएका प्रदर्शनकारीहरूको शोकसभा तथा अन्त्येष्टिमा समेत सेनाले हस्तक्षेप गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसी

