

ग्रामीण आदर्श क्याम्पसमा नेविसंघको रिले अनसन

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रिले अनसन सुरु गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुनिश्चितताको माग गर्दै आजबाट नेविसंघले रिले अनसन सुरु गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकिएकोमा सबै तयारी पूरा हुँदा समेत विभिन्न बहानामा निर्वाचन रोकिएको थियो ।
नेविसंघले निर्वाचन जित्ने भएसँगै विभिन्न बहानामा निर्वाचन रोकिएको र त्यसको सुनिश्चितताको माग गर्दै रिले अनसन सुरु गरिएको नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका इकाई अध्यक्ष महेशमणी पौडेलले जानकारी दिए ।
उनका अनुसार आज नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले रिले अनसनमा बसेका छन् ।
‘कलेजमा हाम्रो संगठनले जित्ने देखिएपछि विभिन्न बहानामा निर्वाचन नगराउने प्रपञ्च रचिएको छ । हामी विद्यार्थीको हक अधिकार सुनिश्चितताका लागि निर्वाचन चाहन्छौँ,’ उनले भने ।
स्ववियु निर्वाचन सुनिश्चित गर्न, कार्यतालिका सार्वजनिक गर्नेसहित स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर्दै विद्यार्थीको मताधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ ।
यी मागहरू पूरागरि छिटोभन्दा छिटो स्ववियु निर्वाचन सुनिश्चित नभएमा आफूहरु आमरण अनसन बस्न समेत बाध्य हुने स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले बताए ।
‘हामी स्ववियु निर्वाचन चाहन्छौँ । यदि हाम्रो मागलाई बेवास्ता गरियो, हाम्रो रिले अनसनलाई कमजोर सोचेर निर्वाचन नगर्ने प्रपञ्च रचियो भने हामी भोलिका दिनमा आमरण अनसन समेत बस्ने चेतावनी दिन्छौँ,’ मियाँले भने ।
लामो विरासत बोकेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा गत २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । यस वर्ष निर्वाचनको सम्पूर्ण तयारी हुँदा समेत क्याम्पस प्रशासनले नै निर्वाचन गराउन नचाहेको नेविसंघको आरोप रहेको छ ।

