इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : काठमाडौंदेखि गएकाे हेलिकप्टरबाट उद्धार हुँदै


काठमाडाैं- सुनसरीको इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा बुधबार बिहान ९ बजेदेखि आगलागी भएको छ । आगो नियन्त्रणमा नआएपछि हालसम्म पाँचौं, छैटौं र सातौं तलामा आगो फैलिएको छ । इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौं तलाबाट आगो शुरू भएको हो ।

भवनमा होटल वरन्डा, वरन्डा रेस्टुरेन्ट, क्युएफेक्स सिनेमा हल, सनराईज बैक र अन्य साना पसलहरू रहेका छन्। आगो लागेका ठाउँमा होटल र रेस्टुरेन्टमा रहेका व्यक्तिहरू फसेको जानकारी प्राप्त भएको छ । उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले पाँचको प्लाजाभित्रबाट सकुशल उद्धार गरिएको बताए ।

अहिलेसम्म ७ जनालाई उद्धार गरिएको छ, र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली र दमकलका कर्मचारीहरू आगो नियन्त्रण गर्ने प्रयासमा जुटेका छन् । आगो अझै फैलिरहेको खबर छ ।

प्रतिक्रिया