चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा


काठमाडौं- नवराज सुवेदी र दुर्गा प्रसाईँ समूहअन्तर्गतको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आगामी चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ ।

समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा राजसंस्थावादी, हिन्दू अधिराज्य समर्थक तथा सङ्घीयता विरोधी आम नागरिक, राजनीतिक दल र समूहहरूलाई साथ, सहयोग तथा समर्थनका लागि आह्वान गरेको छ ।

संयोजक नवराज सुवेदीले नेपाल विशिष्ट राजनीतिक सङ्क्रमणको चरणमा रहेको उल्लेख गर्दै देशभक्त एवं राजसंस्थावादी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

विज्ञप्तिमा राजधानी केन्द्रित राजसंस्था पुनर्स्थापनाका लागि हुने सबै आन्दोलनमा समितिको पूर्ण समर्थन रहने उल्लेख गरिएको छ ।

यसैबीच, उक्त प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाले समर्थन जनाउने भए पनि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ। सुबेदी नेतृत्वको समितिमा सहभागी हुन अस्वीकार गरे पनि कमल थापाले पार्टीको प्रतिनिधित्व गराएका छन् ।

प्रतिक्रिया