

युट्युबर बने महावीर पुन

काठमाडाैं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन युट्युबर बन्ने बाटोमा लागेका छन् । आम्दानीको नयाँ स्रोत खोज्दै युट्युब च्यानल सुरु गरेको उनले बताएका छन् ।
‘विगत ३२ वर्षदेखि कुनै जागिर खाएको छैन, अन्य कुनै आम्दानीको स्रोत पनि छैन । अरुले युट्युबबाट आम्दानी गरेको देखेर मैले पनि प्रयास गरेको हुँ,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पुनले युट्युब च्यानलबाट प्राप्त हुने आम्दानीलाई विशेष कामका लागि प्रयोग गर्ने बताएका छन् । ‘मैले जुन काम गर्न गइरहेको छु, त्यो मेरो जिम्मेवारी पूरा गर्नका लागि छुट्टै पैसा चाहिएकाले युट्युब च्यानल खोलेर पैसा जम्मा गर्न खोजिरहेको हो,’ उनले भने ।
उनले आफ्नो युट्युब च्यानलमा ज्ञानवर्द्धक र मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्ने योजना बनाएका छन् । च्यानलमा १०–१५ मिनेटका नियमित कार्यक्रम राखिने पुनले जानकारी दिएका छन् ।

