

गृहमन्त्रीको प्रस्ताव– विवाहको उमेर घटाऔँ कि रोमियो जुलियट मोडलमा जाऔँ

काठमाडौं – गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढिरहेको जानकारी गराएका छन् ।
आइतबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिँदै उनले विवाहको उमेरसम्बन्धी विषयमा गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता रहेको बताए ।
“विवाहको उमेरबारे गम्भीर छलफल गर्नुपर्छ । बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया मन्त्रिपरिषद्मा विचाराधीन छ । संशोधन विधेयक तयार भइसकेको छ, जसमा विवाहको उमेर घटाउने विषयमा पनि छलफल भइरहेको छ,” गृहमन्त्री लेखकले भने ।
उनका अनुसार, विवाहको उमेर घटाउने वा ‘रोमियो-जुलियट मोडल’ अपनाउने दुईवटा विकल्प प्रस्तावित छन् ।
“पहिलो विकल्प विवाहको कानूनी उमेर घटाएर १८ वर्ष पुर्याउने हो । दोस्रो, अन्तर्राष्ट्रिय अभ्यासअनुसार रोमियो-जुलियट मोडल अपनाउने हो,” उनले स्पष्ट पारे ।
रोमियो-जुलियट मोडलबारे उनले भने, “यस अवधारणाअनुसार विवाहको कानूनी उमेर १८ वर्ष नै रहनेछ । तर, यदि १६ देखि १८ वर्ष उमेर समूहका युवायुवतीबीच आपसी सहमतिमा सम्बन्ध कायम भएमा त्यसलाई बलात्कारको रूपमा नलिने व्यवस्था हुन सक्छ ।”
उनले यस्तो मोडल अपनाउँदा लागू गर्नुपर्ने केही अन्तर्राष्ट्रिय शर्तहरू हुने र त्यसमा सजग रहनुपर्ने बताए ।
हालका लागि विवाहको उमेर घटाएर अघि बढ्दा समाधान हुनसक्ने उनको भनाइ छ । यस विषयमा थप छलफल गरी सुझाव दिन उनले सांसदहरूलाई आग्रह गरे ।

