आईपीएलः आरसिबीद्वारा कोलकाता पराजित, आज दुई खेल हुँदै


काठमाडौं- साबिक विजेता कोलकता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै रोयल च्यालेन्ज बैंगलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आईपिएल) को उद्घाटन खेलमा सानदार सुरुवात गरेको छ ।

गएराति भएको खेलको जितपछि आरसिबीले दुई अंक जोडेको छ। कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७५ रनको लक्ष्य दिएको थियो। १७६ रनको लक्ष्य आरसिबीले १६ दशलमव २ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो।

आरसिबीको जितमा ओपनरद्वय विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरे। कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए। उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरे। टी-२० क्रिकेटमा उनको चार सयाैं म्याच हो।

साल्टले आक्रमक ब्याटिङ गर्दै ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाए। कप्तान रजत पटिदारले ३४ रनको योगदान गरेका थिए ।

कोलकत्ताको लागि बैभव आरोरा, बरुन चक्रभर्ती र सुनिल नारिनेले समान एक विकेट लिए।

यसअघि कोलकाताको लागि अजिंक्य रहाणेले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए। रहाणेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। सुनील नारेनेले ४४ रन बनाएका थिए ।

पाँच बलमा चार रन बनाएका क्विन्टन डी कक आउट भएपछि रहाणे र नारिनेले ५५ बलमा १०३ रनको साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरतर्फ बढाएका थिए। तर मध्यक्रम नचल्दा कोलकता पराजित हुन पुग्यो। आङकृश रघुवंशीले ३० तथा रिंकु सिंहले १२ रनको योगदान गरे।

आरसिबीका लागि क्रुनल पाड्याले तीन विकेट लिए यसबाहेक जस हैजलवुडले दुई तथा यस डायल, रसिख सालम र सुयश शर्माले समान एक विकेट हात पारेका थिए।

आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्नेछन्।

प्रतिक्रिया