

ट्रम्पले किन गरे शिक्षा विभाग बन्द गर्ने निर्णय ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो निर्णय उनको चुनावी वाचामध्ये एक थियो ।
आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं । यसबाट कुनै ठोस फाइदा भइरहेको छैन।’
उनी लामो समयदेखि शिक्षा विभाग खारेज गर्ने पक्षमा थिए । तर, यसलाई पूर्ण रूपमा बन्द गर्न अमेरिकी संसद (कंग्रेस) को स्वीकृति आवश्यक पर्छ, जुन तत्काल सम्भव देखिँदैन ।
ट्रम्पको यो कदम कानुनी चुनौतीहरूको सामना गरिरहेको छ। केही समूहहरूले शिक्षा विभाग बन्द गर्ने र अघिल्लो हप्ता घोषणा गरिएका कर्मचारी कटौतीको निर्णयलाई रोक्न मुद्दा दायर गरेका छन् ।
विद्यार्थीहरूको कमजोर सफलता दरप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले भने, ‘अमेरिका अरू कुनै देशभन्दा धेरै शिक्षा क्षेत्रमा पैसा खर्च गर्छ, तर विद्यार्थीहरूको नतिजा अपेक्षाअनुसार राम्रो छैन ।’
शिक्षा विभाग कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूका लागि संघीय छात्रवृत्ति र ऋण व्यवस्थापन गर्ने जिम्मेवारी वहन गर्छ । साथै, कम आय भएका र शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहायता पुर्याउने कार्य समेत गर्छ ।

