कैलालीकाे सिमली जंगलमा अनुमतिविना ‘रेन्बो फेमली ग्यादरिङ’


कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसिरहेका १०० भन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र छाड्न निर्देशन दिएको छ ।

भारत, अमेरिका, चीन लगायत विभिन्न देशबाट आएका ती नागरिक “रेन्बो फेमली ग्यादरिङ” नामक समूहका हुन् । करिब एक हप्तादेखि जंगल क्षेत्रमा बसोबास गर्दै अस्वभाविक गतिविधि गरिरहेको गुनासो आएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमालसहित सुरक्षा टोलीले अनुगमन गरेको थियो ।

अनुमति बिना बसोबास
प्रजिअ हमालका अनुसार ती विदेशी नागरिकले कुनै पनि सरकारी निकायबाट अनुमति नलिएको पुष्टि भएपछि क्षेत्र खाली गर्न निर्देशन दिइएको हो। उनीहरूले आफूलाई ‘प्रकृतिप्रेमी’ बताएको भए पनि अनुमति विना बसोबास गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।

अनुगमनका क्रममा उनीहरू शान्ति सुरक्षा खलल पार्ने गतिविधिमा नरहेको जनाइएको छ, तर केही स्थानीय व्यक्तिहरूले उनीहरूसँग समन्वय गरिरहेको पाइएको छ।

पत्रकारमाथि हातपात
घटनाबारे समाचार लेख्ने सुखडका पत्रकार प्रकाश मिश्रमाथि हातपात भएको छ । घोडाघोडी नगरपालिका–१० का सृजना होटेल सञ्चालक चेतबहादुर सिंह (४०) र अजुवा क्याफेका सञ्चालक डबलबहादुर शाह (४८) ले मिश्रमाथि आक्रमण गरेका हुन् ।

पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले घटनाको विरोध जनाएका छन् । इलाका प्रहरी कार्यालय सुखडले हातपातमा संलग्न शाहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नगरपालिकाको विवादास्पद भूमिका
स्थानीय प्रशासनले विदेशी नागरिकलाई क्षेत्र खाली गर्न निर्देशन दिए पनि घोडाघोडी नगरपालिकाले संस्कृति आदान–प्रदानका नाममा उनीहरूलाई स्वागत गरेको देखिएको छ । यसअघि पनि “रेन्बो फेमली ग्यादरिङ” समूहका विदेशी नागरिक अछामको रामारोशन क्षेत्रमा पुगेका थिए  ।

प्रशासनले निर्देशन अवज्ञा भए कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया