

सिरहामा छुवाछूतको निर्मम घटना: महायज्ञका लागि दलित परिवारको घर भत्काइयो

सिरहा – सिरहाको औरही गाउँपालिकामा आयोजना हुन लागेको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम) को घर स्थानीय प्रशासनको जेसिभी प्रयोग गरी भत्काइएको छ । महायज्ञ आयोजनाका कर्ताधर्ता महात्यागी बजरंगी बाबाले अछुत डोमको घर उक्त स्थलमा रहन नहुने बताउँदै हटाउन आदेश दिएपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले मरिकको घर भत्काउने निर्णय गरे ।
मरिक परिवारको घर मात्र भत्काइएन, त्यो स्थानको दुई फिट माटो समेत खनेर हटाइयो । विगत ३० वर्षदेखि बसोबास गर्दै आएको उक्त स्थानमा पाँच वर्ष अघि जनता आवास कार्यक्रम अन्तर्गत पालिकाले नै दुई कोठे पक्की भवन निर्माण गरिदिएको थियो। घर भत्काइएपछि मरिक परिवारलाई सुन्दर जनता माध्यमिक विद्यालयको दुई धुर जग्गाको एक कुनामा दुई कोठाको फुसको घरमा राखिएको छ ।
पीडित अनिता मरिकले बताइन् कि गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षले महायज्ञका लागि आफ्नो घर हटाउन दबाब दिएका थिए। उनले आँसु झार्दै भनिन्, “हाम्रो घरमा हाम्रा बालबच्चाको नाभी जोडिएको थियो, हाम्रो भावनात्मक सम्बन्ध थियो, तर हामीलाई अन्यायपूर्वक उठिबास गरियो ।”
नयाँ स्थानमा बसाइँ सरेपछि मरिक परिवार थप समस्यामा परेको छ । त्यहाँ खानेपानीको सुविधा छैन, बिजुली छैन, गर्मीमा सर्प निस्कने डर छ, छिमेकीले पानी भरिदिन मान्दैनन् । अनिताले दुखेसो पोख्दै भनिन्, “हामी गरीब छौं, मेरो श्रीमान् पालिकामा स्वीपर छन्, म स्वास्थ्य केन्द्रमा सफाइ कर्मचारी हुँ । जागिर जोगाउन हामीले चुप लाग्नुपर्यो ।”
अनिताका छोरा अर्जुनले भने, “हाम्रो मात्र घर किन भत्काइयो? अरू जातिका घर किन हटाइएनन्? के हामी मानिस होइनौं?” सात वर्षीय आकाश मरिकले आँसु पुछ्दै पत्रकारसँग अनुरोध गरे, “त्यो बाबाजीलाई जेल हालिदिनुहोस्, उसैले हाम्रो घर भत्कायो ।”
पालिकाका अध्यक्ष शिवजी यादवले घटनालाई स्वीकार गर्दै भने, “त्यहाँ कृषि बजार निर्माण गर्न तीन करोडमा टेन्डर लागेको छ । चौतर्फी बाउन्ड्रीवाल लगाउने भएकाले घर भत्काइएको हो ।” पूर्ववडाध्यक्ष दिलीप यादवले भने, “हामीले नयाँ घर बनाइदिएका छौं, हाम्रो गल्ती के भयो ?”
राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानले यो घटनालाई छुवाछूतको जघन्य अपराध भन्दै दोषीहरू— बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई कानुनी कारबाही गर्न माग गरेका छन् । उनले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगलाई घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

