

जनकपुरमा एसईई अंग्रेजीको प्रश्नपत्र एक घण्टा नबित्दै आउट

काठमाडौं- जनकपुरमा जारी एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टा नबित्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
जनकपुरको कुनै एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ, तर हालसम्म त्यसको ठोस स्रोत पत्ता लागेको छैन। केन्द्राध्यक्षकै संलग्नता रहेको अनुमान गरिएको छ।
यस विषयमा अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताएका छन्। तर, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने प्रश्नपत्र आउट भएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
मधेश प्रदेशमा धनुषा जिल्लाबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सहभागी छन्। यहाँ १९५ विद्यालयका १३,६५४ विद्यार्थी परीक्षा दिइरहेका छन्।
आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका अनुसार अन्य केन्द्रहरूमा परीक्षा शान्तिपूर्ण रुपमा जारी छ।

