

शैक्षिक सत्रअघि विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौं- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरूलाई शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न निर्देशन दिएको छ ।
विभागले एक आधिकारिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) को उल्लंघन नगर्न आग्रह गरेको हो ।
कतिपय विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्दै जनगुनासो प्राप्त भएको सूचनामा जनाइएको छ। महानगरले नियम उल्लंघन गरिए कानुनी कारवाही गरिने चेतावनी दिएको छ ।
यस आदेशको उद्देश्य विद्यालय शिक्षा व्यवस्थापनमा पारदर्शिता ल्याउनु र विद्यार्थीहरूको भर्ना प्रक्रिया व्यवस्थित गर्न रहेको विभागले जनाएको छ ।

