कालीगण्डकी करिडोरमा काम गर्ने दुईजना मृत फेला


पाल्पा-  कालीगण्डकी नदीमा दुई पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार, बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका–६ निवासी २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ निवासी ४५ वर्षीय तेजबहादुर रास्कोटी मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार, दुवै जना कालीगण्डकी करिडोर सडकखण्डमा काम गर्दै आएका कामदार थिए ।

भोजराज अस्लामी मगर बगनासकाली गाउँपालिका–६, दर्पुकस्थित कालीगण्डकी करिडोर सडकखण्डको अस्थायी क्याम्पमा बस्दै डोजर अपरेटरको रूपमा कार्यरत थिए । उनी फागुन २६ गते राति खाना खाई साथीहरूसँग सुत्न गएका थिए । तर, भोलिपल्ट बिहान ओछ्यानमा नभेटिएपछि खोजतलास सुरु गरिएको थियो । पाँच दिनपछि शनिबार राति माईचौरस्थित कालीगण्डकी नदीमा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

तेजबहादुर रास्कोटी राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकखण्डमा कार्यरत थिए । उनी नदी किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । खोजतलासपछि घटनास्थलदेखि करिब २०० मिटर तल उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल र रास्कोटीको शव पाल्पा अस्पताल पठाइएको छ ।

दुवै घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया