डडेल्धुरामा बडाल जाँत सुरु हुँदै, देउवा पनि सहभागी हुने
डडेल्धुरा – सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत साेमबारदेखि डडेल्धुरामा सुरु हुँदै छ । गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि (दिउसेडी) कार्यक्रम हुने गरेको छ ।
शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ । दाइन, दमाहा, रुइसिङ्ग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ ।
लाटा गन्याप देवताको भक्तिस्वरूप बनाइने जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेल्ने गरिन्छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ‘देउताको प्रतीक) ल्याउने चलन रहेको छ ।
जाँतमा मंगलबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए ।