विविध परिघटनाले भन्छ– प्रतिनिधि सभा फेरि भंग हुनेछ, ओलीले नै गर्नेछन्


काठमाडौं– माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपछि अगाडिको राजनीतिक परिघटनाको दृश्य स्पष्ट हुन थालेको छ।

केही दिनमा नै राजनीतिक र नैतिक रुपमा यो सरकारलाई समर्थन दिन नसक्ने भन्ने प्रचण्डको घोषणापछि ओली सरकार अब नेपालको संविधानको धारा ७६ (३)मा झर्नेछ।

प्रमुख प्रतिपक्षी दलका एक जना नेता मिनेन्द्र रिजालले पनि सरकारलाई समर्थन गर्न नसक्ने बताइसकेका छन् भने संघीय समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि समर्थन दिन नसकिने बताइसकेका छन्।

यसको अर्थ, सबैभन्दा ठूलो दलको नेता भएका नाताले ओलीले विश्वासको मत लिन एक महिना समय लिनेछन्। अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीको गठजोड हुने सम्भावना कम रहेको छ। जहाँ कांग्रेस तटस्थ बस्ने संकेत सभापति शेरबहादुर देउवाले भनिसकेका छन्।

उनले भनेका छन्,‘कमजोर सरकारको प्रधानमन्त्री बन्दिन।’ कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई दाबी नगरेपछि उसले संसदमा कुनै पनि सरकारलाई समर्थन दिने छैन।

ओली सरकार धारा ७६ को ४, ५ हुँदै ७ अनुसार अघि बढ्नेछन्। प्रधानमन्त्री ओलीले पनि यहि विषयबस्तुलाई स्पष्ट गर्दै केही अघि भनेका थिए,‘अब प्रतिनिधि सभा भंग गर्नुको औचित्य पुष्टि हुनेछ।’

यसको अर्थ संविधानसम्मत ढंगले प्रतिनिधि सभा विघटन भई मुलुक निर्वाचनको गतिमा अघि बढ्नेछ। निर्वाचन आयोग अन्तर्गतका सबै कार्यालयले मतदाता नामावली आवधिक गर्नुले पनि यहि संकेत गरेको थियो।

नागरिक आन्दोलनले गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डलगायत माधवकृुमार नेपालले पनि यहि प्रक्रियामा ओली अगाडि बढ्ने प्रष्ट बताइसकेका छन्। राजनीति र संविधानका जानकारहरू भन्छन्,‘अबको परिदृश्य यस्तै देखिन्छ।’

यस्तो घटनाक्रम हुनुका केही नैतिक कारणहरू पनि पृष्ठभूमीमा छन्। प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेपाली कांग्रेस र जसपाले पनि यसलाई असंवैधानिक भनेका थिए। यसैकारण ओली सरकारमा उनीहरूको समर्थन हुने विषयको ‘ग्राभेटी’ नहुने स्पष्ट छ।

बालुवाटारमा ठाकुरसँग प्रधानमन्त्री ओलीले केही अघि गरेको प्रस्तावले पनि यस्तै संकेत गर्दछ। उनले जसपालाई मूल रुपमा तीन प्रस्ताव गरेका थिए। सरकारमा समर्थन गरी आउने, सरकारमा नआउने तर समर्थन दिने र अन्तिमचाहिँ अर्को गठजोडमा नलागी तटस्थ बस्ने।

यी विविध परिघटनाले भन्छ– प्रतिनिधि सभा फेरि भंग हुनेछ, ओलीले नै गर्नेछन्।

प्रतिक्रिया