लेखा अधिकृत गिरीको संरक्षण गर्दा बेथानचोकका अध्यक्ष अधिकारी विवादमा !
काभ्रे – आर्थिक ऐन र सार्वजनिक खरिद ऐनको अपव्याख्या गर्दै स्थानीय सेवाग्राहीहरूलाई दुःख दिँदै आईरहेका वेथानचोक गाउँपालिकाका लेखा अधिकृत बिदुर गिरीको संरक्षण गर्दा गाउँपालिका प्रमुख भगवान् अधिकारी नै विवादमा तानिएका छन् ।
गाउँपालिकाको वडा नं. २ स्थित गोरेग्रह्रा मुल्डाँडा, डोलाखोला खानेपानी आयोजनाको उपभोक्ता समितिलाई सम्झौताअनुसारको रकम भुक्तानीमा आलटाल गरेका लेखाअधिकृत गिरीको संरक्षण गरेपछि अध्यक्ष अधिकारी विवादमा ताएिका हुन् ।
वेथानचोक गाउँपालिका वडा नं–२ को गोरेगैह्रा, मुल्डाँडा, डोलाखोला खानेपानी आयोजना (BMZ) को ७५ प्रतिशत उज्यालो नेपालको १५ प्रतिशत र वेथानचोक गाउँपालिकाको १० प्रतिशत लगानीमा सम्पन्न गर्ने गरि भएको सम्झौताअनुसारको उपभोक्तालाई दिनुपर्ने १० प्रतिशत रकम भुक्तानी माग गरिएपछि गिरीले विभिन्न बहानामा आलटाल गर्दै आएका थिए । सो सम्बन्धमा स्थानीय समाजसेवी मछिन्द्रकुमार लामाले पटकपटक गाउँपालिका प्रमुखलाई प्रश्न उठाए पनि गिरीप्रति कुनै ‘एक्सन’ नलिएपछि गाउँपालिका अध्यक्ष अधिकारी विवादमा तानिएका हुन् । सम्झौताअनुरुपको रकम दातृ निकायले समयमै उपभोक्ता समितिको खातामा जम्मा गरेपनि गाउँपालिकाले उपलब्ध नगराएपछि काममा ढिलाई समेत भएको थियो ।
उपभोक्ता समितिले निर्धारित समयभित्रै काम सम्पन्न गरेपछि भएको दातृ निकायसँगको बैठकमा नै लेखा अधिकृत गिरीले उक्त १० प्रतिशत रकम उपलब्ध नगराउने भन्दै अवाञ्छित व्यवहार देखाएपछि दातृ निकायले गर्ने भनेको थप सहयोग रोकेको समेत समाजसेवी लामा बताउँछन् ।
दातृ संस्थाको प्रतिनिथि नोर्वट, गाउँपालिका अध्यक्ष अधिकारी, वडा नं २ का वडाध्यक्ष पुरूषोत्तम तिमल्सिना र प्रमुख प्रशासकिय अधिकृत सहितको संयुक्त बैठकमा दातृ संस्थाका प्रतिनिधि नोवर्टले गाउँपालिका अध्यक्षलाई उपभोक्तालाई १० प्रतिशत रकम दिएको नदिएको बारेमा सोधे पनि लेखा अधिकृत गिरीले आफूले सम्झौता नमान्ने र उक्त रकम नदिने भन्दै अभद्ररुपमा प्रस्तुत भएका थिए । तर त्यस अवस्थामा सम्झौतामा हस्ताक्षर गरेका अध्यक्ष अधिकारी नै मौन रहनुले त्यहाँ कुनै अनियमितता भएको हुनसक्ने पनि आशंका उब्जेको छ ।
गाउँपालिकाको कार्यकारी अधिकार पाएका अध्यक्ष अधिकारी नै मौन बस्नु असह्य भएपछि समाजसेवी लामाले लेखाअधिकृत गिरीविरुद्ध सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई विवादका रुपमा अगाडि नल्याउन गाउँपालिका अध्यक्षले आग्रह गरेका थिए । सबै बसेर समस्याको समाधान गर्ने आश्वासन दिएका अध्यक्ष अधिकारीले उल्टै लेखा अधिकृत गिरीको संरक्षण गरेको समाजसेवी लामाले जनाए ।
छलफलमा समाधान गर्नुपर्ने विषयमा अध्यक्ष अधिकारीले लेखाअधिकृतको गिरीको उक्साहटमा उल्टै केही स्थानीय र केही सञ्चारकर्मीविरुद्ध कानुनी कारबाहीको धम्कीसहितको विज्ञप्ति निकाल्नुले पनि थप विवाद उब्जिएको छ । समाजसेवी लामाले अध्यक्ष अधिकारीले कतिपय आफ्ना कमजोरी ढाकछोप गर्नका लागि लेखाअधिकृत गिरीको संरक्षण गरेको हुनसक्ने समेत बताउँछन् ।
त्यसअघि गिरीले सोही योजनाको प्राविधिक मुल्याङ्कन ठिक रहेता पनि विल भर्पाई नमिलेको भन्दै सबैजसो उपभोक्ता समितीको रकम काटिएको पिडितहरू बताउँछन्।
स्थानीय मछिन्द्र कुमार लामाले वडास्तरीय बजेटबाट सडक मर्मत सम्भारको रू २ लाखको ढुङ्ढुङ्गे मुल्डाँडा उपभोक्ता समितीलाई पनि लेखाअधिकृत गिरीले रू २०००।- रुपैयाँ खातामा कम जम्मा गरिदिएको जनाए ।