नेपाल एयरलाइन्सले शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने
काठमाडाैं- नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
उनका अनुसार साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौंबाट उडान भर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ ।
हाल भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने तय भएको छ ।
विमानस्थलबाट कात्तिक २३ थाई एयर एशिया, कार्तिक २४ गते फ्लाई दुबई र कार्तिक २५ गते देखि जजिरा एयरवेजले उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।