लक्ष्मी पूजाको दिन विद्युतकाे माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी
काठमाडौँ – यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट बराबर रहेको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६.२५ बजे उक्त पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार चार सय ३८ मेगावाट थियो ।
गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक सय ६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको दुई सय ५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गतवर्ष लक्ष्मीपूजा पिक समयमा पाँच सय १७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब दुई सय मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो ।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार आठ सय ५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड एक हजार नौ सय ५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड तीन सय ९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष तीन सय ६६ मेगावाट थियो ।