पार्टी विघटनका बहसले राष्ट्रियतालाई थप बलियो बनायो : सभामुख


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले पछिल्ला राजनीतिक घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थपिएको बताएका छन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् । उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको पनि बताए ।

गएको पुस ५ देखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उनले बताए । निकै उतार–चढाव र बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र योबीचमा समुद्र मन्थन भई संसद्ले पुनः गति लिएको उनको भनाइ थियो ।

उनले संसद्मा जनअपेक्षाअनुसार काम नभएको स्वीकार पनि गरे । राष्ट्रियताको सवालमा संसद्ले अद्भूत एकता प्रदर्शन गरेको र ठूल्ठूला समस्या समाधान गरेको उनले उल्लेख गरे ।

संसद् बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने सभामुख सापकोटाले प्रष्ट पारे । अहिले केही अन्योलता देखिए पनि निराश हुनुपर्ने स्थिति नरहेको उनले बताए ।

७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया