प्रसादको मासु खाँदा ३५ जना बिरामी
अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको मासु खाँदा ३५ जना बिरामी भएका छन् ।
सन्धिखर्क नगरपालिका-१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । अर्घाखाँची हस्पिटलमा एकजनाको उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए ।
बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले बताए । उनीहरू सबैको अवस्था सामान्य छ । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिए।