धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्न गगन थापाकाे आग्रह
काठमाडाैं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
आज आयोजित राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नाम मुछिएका धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न र गल्ती गरेको भए अभियोजन गर्नुपर्ने बताएका छन् ।
उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुनुपर्ने बताए । ‘जुन पार्टीको भए पनि नाम जोडिएपछि अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नेमात्रै होइन, गल्ती गरेको भए दण्ड पनि हुन्छ’, थापाले भने, ‘कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा होस्,अथवा पाँच पटक प्रधानमन्त्री भएको मान्छे होस् कि अहिले भएको प्रधानमन्त्री होस् वा भोलि प्रधानमन्त्री हुने मान्छे होस् कानूनभन्दा माथि कोही छैन भन्ने कुरा सरकारले स्थापित गर्नुपर्छ ।’