

हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव

सिमकोट – हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ। अस्पतालमा मौज्दात भएको औषधि सकिएको र नयाँ औषधि खरिद गर्न नपाएपछि अभाव देखिएको अस्पतालले जनाएको छ ।
भाउजुलाई उपचारका लागि अस्पताल ल्याएकी सिमकोट–४ की बविता शाहीले चेकजाँचपछि आफूले औषधि किन्न नपाएको गुनासो गरिन् । उनले घरको छतबाट लडेर घाइते भएकी भाउजु भानु शाहीलाई उपचारको लागि जिल्ला अस्पताल ल्याएकी हुन् ।
अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले औषधिको अभाव भएको स्वीकार गर्दै घाउचोट लागेका बिरामीका लागि स्प्रिड कटनको पनि अभाव रहेको बताइन् ।
स्वास्थ्य सेवा कार्यालयका कर्मचारीको सरुवा भएको र नयाँलाई आर्थिक खर्चको अधिकार नदिइएकोले औषधि खरिदमा पनि समस्या भएको उनको भनाइ छ ।

