

श्रीलंकाविरुद्ध ६ गोल गर्दै नेपालको शानदार जित

काठमाडौं – नेपालले वुमेन्स साफ च्याम्पिनसिप–२०२४ मा बिहीबार श्रीलंकालाई ६–० ले पराजित गर्दै शानदार जित हात पारेको छ । दशरथ रंगशालामा श्रीलंकालाई हराउँदै नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।
नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार सातौं पटक हो । नेपालले प्रतियोगिताका प्रत्येक संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ । अब अन्तिम चारमा नेपालले भारत तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशले भुटानसँग खेल्ने छ । दुवै सेमिफाइनल आइतबार हुनेछन् । समूह चरणका खेलको समाप्तीमा नेपाल र भुटान समान सात सात अंकमा रहे ।
गोल अन्तरको आधारमा नेपाल अगाडि रहेको हो । हारसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालका लागि आठौं मिनेटमा सबिता रानामगरले गोलको खाता खोलेकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ११ औं मिनेटमा दोस्रो गोल गरिन् । पेनाल्टी एरिया बाहिरबाट गरेको यो गोल उत्कृष्ट रह्यो ।
सावित्राको नेपालका लागि यो ५४ औं गोल रह्यो । तेस्रो र चौथो गोल भने रेखा पौडेलको नाममा रह्यो । उनले १३ तथा ३६ औं मिनेटमा गोल गरिन् तथा नेपाल पहिहलो हाफमा चार गोलले अगाडि रह्यो । दोस्रो हाफको दोस्रो मिनेटमै अमिशा कार्कीले पाँचौ गोल गरिन् । रश्मिकुमारी घिसिङले दोस्रो हाफको इन्ज्युरी समयमा छैटौं गोल गरिन् ।

