पौने ४ खर्बको वस्तु आयात हुँदा ३८ अर्बको मात्रै निर्यात


काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा आयात ४.१७ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात समेत ६.११ प्रतिशतले घटेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३८ अर्ब ३७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको विभागले जनाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

कुल व्यापारमा आयातको हिस्सा ९१.०६ प्रतिशत छ भने निर्यातको हिस्सा ८.९४ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । आयात र निर्यात दुवै घट्दा व्यापार घाटा पनि ३.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया