सहकारी ठगीमा संलग्न पाँच सय ७५ जना जेल पुगिसके : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने बताएका छन् ।
सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले विभिन्न समयमा भएका सहकारीको बचत ठगी प्रकरणमा मुछिएका ६ सयभन्दा धेरैमाथि कानुनी कारबाही चलाइएको बताएका छन् ।
‘सहकारीको बचत हिनामिनाबारे छानबिनका लागि संसदीय समिति बनाउँदै यसमा मुछिएका कसैलाई पनि नछाड्ने प्रतिबद्धता जनाएका थियौँ’, उनले भने, ‘त्यहीअनुसार ६०० भन्दा माथिलाई कारबाही गरिसकेका छौँ । जसमध्ये सहकारी ठगीका ५७५ जना अहिले जेलमा छन् ।
ओलीले अहिले देखिएको समस्या समाधानका लागि सहकारी प्राधिकरण पनि बनाउने गरी सरकारले कदम चालिसकेको पनि बताएका छन् ।