राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम: जसले ‘सहकारी ठग’ जीबीलाई पनि सल्लाह दिन्थे


काठमाडाैं- राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगीमा फरार जीबी राईका पनि कानूनी सल्लाहकार भएको खुलेको छ । नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरका सहोदर दाइ रहेका उनले उनले गोर्खा मिडियामा मासिक तलब नै खाएर राईलाई कानूनी सल्लाह दिने गरेकाे खुलेकाे हाे । २०७९ साल चैतमा राष्ट्रपतिले उनलाई आफ्नो कानूनी सल्लाहकार नियुक्त गरेका थिए । साेही बेला पनि उनी जीबीका कानूनी सल्लाहकार थिए ।

२०७४ सालमा  गण्डकी प्रदेश (तत्कालीन प्रदेश ४) को प्रमुखसमेत भइसकेका कुँवर रकम अपचलन गरिएका संस्थामा पनि सल्लाहकार थिए । उनी  जीबी राई नेटवर्क विजनेसमा हुँदादेखि नै कोर टीममा थिए । सहकारीको रकम अपचलन भएकाबेला जिबी राईको नेचर हर्ब्सलगायत कम्पनीका कानुनी सल्लाहकारका रूपमा कुँवरले काम गरेकाे स्रोतले बताएकाे छ । राईका हरेक मुद्दामा कुँवरले नै बहस गर्ने गरेका थिए । उनले जिवी विदेश भाग्नुअघिसम्म कुँवरले सघाएको देखिएकाे छ ।

तर, सत्ता र प्रहरी प्रशासनमा भएको पहुँच र शक्तिका कारण कुँवरमाथि अनुसन्धान भएन । सहकारी ठगीसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिले कुँवरलाई बयानसम्ममा तानेन । अहिले पनि उनलाई प्रहरीदेखि राजनीतिक नेताहरुसम्मले संरक्षण गरिरहेको रास्वपा नेताहरुकाे आरोप छ । स्राेतकाे दाबी अनुसार बाबुराम सल्लाहकार देखिने कतिपय कागजपत्रसमेत अनुसन्धानकाे दायरामा ल्याइएकाे छैन ।

हिजाे पोखरामा रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले कुँवरलाई छानबिनमा तान्न सरकारलाई चुनौती दिएका थिए । उनले गोर्खा मिडियाका सल्लाहकार रहेका बाबुराम कुँवर अहिले राष्ट्रपतिका कानूनी सल्लाहकार भएकाले  छानबिनमा तान्न सरकारलाई चुनौती दिएका थिए ।

बाबुराम कुँवर पूर्वमहान्यायाधीवक्ता पनि भइसकेका छन्  । उनी तत्कालीन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका महान्यायाधीवक्ता थिए । अर्घाखाँची जिल्लाका कुँवर पृथ्वीनारायण क्याम्पस पोखरामा कानुन विषयको पहिलो ब्याचका विद्यार्थी हुन् ।

प्रतिक्रिया