


दोलखाका प्रमुख राजमार्गमा ‘टाइम कार्ड’

दोलखा – दोलखामा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दोलखाले चाडपर्वलक्षित गरी ‘टाइम कार्ड’ लागु गरेको हो ।
सडकमा सवारीसाधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारीसाधन चलाउने तथा सवारी नियमको उल्लङ्घनसमेत बढ्न गई हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न राजमार्गमा ‘टाइम
कार्ड’ लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर भट्टराईले बताए ।
जिल्लाको भीमेश्वर नगरपालिका–९, खरिढुङ्गा चेकपोस्ट सदरमुकाम चरीकोट सातदोबाटो चोकसम्म २२ किलोमिटर यात्रा गर्न एक घण्टा समय तोकिएको छ । त्यसै गरी चरीकोटबाट तामाकोशी गाउँपालिका–५, किर्नेटार चेकपोस्टसम्म ३९ किलोमिटर यात्रा गर्न एक घण्टा ३५ मिनेट र चरीकोटबाट जिरीसम्म ५६ किलोमिटर यात्रा गर्न दुई घण्टा १५ मिनेट समय निर्धारण गरिएको छ ।
अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनका हकमा यो नियम लागु हुने छ ।
“जिल्लामा तीव्र गतिमा सवारीसाधन चलाउनेसँगै खाल्टाखुल्टी, पुराना गाडीलगायत मानवीय गल्तीका कारण पनि दुर्घटना हुने गरेका छन्,” ट्राफिक प्रहरी प्रमुख भट्टराईले भने, “टाइम कार्ड लागु गरे पनि मुख्य कुरा सचेतना आवश्यक रहेकाले यसतर्फ ध्यान दिन सके धेरै दुर्घटना कम गर्न सकिन्छ ।” टाइम कार्ड अनुसार चालकले पालना गरे नगरेको प्रभावकारी रूपमा अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्न सके दुर्घटनामा कमी आउने प्रहरीले जनाएको छ ।

