

एमालेको चिन्ता अरुले गर्नु पर्दैन : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताएका छन् ।
उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ- आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्ने पर्दैन नि ।
नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले) ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो ।
भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ। जनताका बीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।
तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ ।’

