एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं – सत्तारुढ नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

बैठक भोलि (आइतबार) साँझ ५ बजे बस्ने गरी बोलाइएको एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन ।

भोलिको बैठकमा रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ब्रिफिङ गर्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । लामिछाने पक्राउ परेपछि एमाले सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो । शुक्रबार रविलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेर कास्की पुर्‍याएको छ ।

यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो । सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाइसक्न आह्वान पनि गरिसकेको छ ।

प्रतिक्रिया