दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब ‘रेमिट्यान्स


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को साउन–भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साउन–भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।

प्रतिक्रिया