

प्रधानमन्त्री ओलीले लगाए बुबाको हातबाट दसैँको टीका

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हाटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दसैँको टीका ग्रहण गरेका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपदले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।
विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे । ‘जो जहाँ छौ, पीडामा परेकाहरुको पीडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु’, उनले भने ।
प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैं टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् । ‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनु पर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन’, उनले भनेका छन्, ‘दसैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।’

