बाढी, पहिरो, डुबानबाट हालसम्म १३२ को मृत्यु, ६४ जना बेपत्ता


काठमाडाैं- बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरूको उद्धारका लागि दुई दिनदेखि हवाई उद्धार गरिरहेको छ ।

विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरु परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया