

कांग्रेस नेतृत्वमा कोइराला परिवार ‘कमब्याक’का यस्ता छन् प्रयत्नः शेखर सभापति, गगन महामन्त्री

काठमाडौं– नेपाली कांग्रेसमा पुस्तान्तरणको नयाँ समीकरणसँगै नेतृत्वमा कोइराला परिवार ‘कमब्याक’ गर्ने रणनीति तय गर्न थालिएको छ।
१४ औं महाधिवेशनमा सभापतिका आकांक्षीका रुपमा रहेका डा. शेखर कोइराला अहिले देशव्यापी कार्यकर्ता भेला र सम्बोधनमा हिँडेका छन्। उनकै अग्रसरतामा नयाँ समीकरणको खाका तयार भएको बताइन्छ।
कांग्रेसको ठूलो पंक्तिको व्यवस्थापन पनि गरिने नयाँ रणनीति तय गरिएको छ। सभापति शेरबहादुर देउवा पक्षलाई कमजोर बनाउनका लागि उपसभापति विजय गच्छादार, महामन्त्री शशांक कोइराला, सुजाता कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, गगन थापा, अर्जुननरसिंह केसीसम्मको नयाँ गठबन्धन बनाउने तयारी भएको छ।
देउवा खेमामा सभापतिका लागि उपसभापति विमलेन्द्र निधिले इच्छुक मात्र नभएर दाबेदारी समेत प्रस्तुत गरेपछि कोइराला परिवार नेतृत्वमा कमब्याकका लागि महामन्त्रीमा गगन थापालाई राख्न सकिने तयारीमा छ।
यस्तै कांग्रेसमा प्रभाव राख्ने पूर्वमहामन्त्री सिटौला, महामन्त्री शशांक, सुजाता कोइराला, केसीलाई उपसभापति बनाउने सहमतितिर पनि छलफल चलिरहेको बताइन्छ। उपसभापति गच्छादारलाई भने बरिष्ठ उपसभापतिका रुपमा स्वीकार गर्दै कांग्रेसको सत्ता आफ्नो हातमा आए राष्ट्रपतिसम्म बनाउन सकिने विषयमा चर्चा भएको स्रोतले जनाएको छ।
कोइराला क्याम्पले यस पटक भने नेता रामचन्द्र पौडेललाई मानेर जान नसकिने छनक देखाएको छ। ‘पार्टीमा पुस्तान्तरणको विषय पनि बलियोगरी उठेको छ। अबको पुस्ता शेखरको र आउने पुस्ता थापाहरूलाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा सहमति गराउने तयारी छ’, कांग्रेस स्रोतले भन्यो।
विधान संशोधन गरी कांग्रेसमा ६ जनासम्म उपसभापति बनाउने तयारी भएको थियो। यसो हुँदा कोइराला परिवारलाई उच्च तहका नेता व्यवस्थापनमा सहज हुनेछ। ‘प्रकाशमान सिंहलगायतसँग पनि देउवाको इतरमा एउटा अलग समूह बनाएर शेखरकै नेतृत्वलाई सहयोग गर्न सहमति गराउने पनि प्रयास भएको छ’, स्रोतले भन्यो।
कांग्रेसभित्र देउवाको मनोपोली चलेको, अप्ठेरो अवस्थामा पनि निर्णय लिन नसकेको, पार्टी विधान नै मिचेको भनी आलोचना हुँदै आएको छ। ‘पार्टी पुरापुर अप्ठेरो अवस्थामा र चुनावमा पनि कमजोर बनाउने काम सभापतिबाट भयो, अर्को विधानविपरितका काम भए त्यसैले उहाँको विकल्पमा एउटा ठूलो हिस्सा एक जुट हुन आवश्यक छ’, कांग्रेस स्रोतले भन्यो।

